काठमाडौँ — प्राचिन सभ्यताहरू कला, साहित्य र संस्कृतिका मुहान मात्र होइनन्, ति विकासका मार्गदर्शक पनि हुन् । ग्रीक र सिनिक सभ्यताले मार्ग दर्शन गरेको बाटोमा हिडेर आज युरोप तथा चीन, जापान, कोरिया, भियतनामलगायतका मुलुकहरुले विकासको फड्को मरेका छन् ।
प्राचिन कालदेखि नै विभिन्न जातजाति तथा दर्शनबाट प्रेरित नेपाली समाजको पनि आफ्नै मौलिक कला, संस्कृति र संस्कार छ। प्रत्येक स्थानीय सरकारहरु आफ्नै ऐतिहासिक मौलिक सम्पतिले भरिपुर्ण छन् जसको समयानुकुल उपभोग बाट विकासको नविन बाटो कोर्न सक्छन्।
पृष्टभुमि
सामान्य बुझाइमा सभ्यता इतिहासले निर्माण गर्छ, तर कतिपय अवस्थामा तिनै सभ्यताहरुको बिनासमा पनि इतिहासकै कालखण्डहरु जिम्मेवार हुन्छन्। प्राचिन ग्रीक सभ्यताले मानव जातिको संस्कार, संस्कृति, भाषा, कला, साहित्य र धर्मको विकसित रुपको प्रारूप तयार पार्ने काम मात्र गरेन, आदिम युगका मानव क्रियाकलापहरुलाई एउटा ब्यवस्थित प्रणालीमा रुपान्तरण गर्ने काम गर्यो। ग्रीक सभ्यताको विकासको क्रम संगै युरोप तथा एसियाका कतिपय भूभागहरु पनि सभ्यताका केन्द्रको रुपमा बिकसित भए। सिन्धु घाँटी, मेसोपोटामिया, नाइल नदी आदि केन्द्रमा बिकसित सभ्यताहरुले साँच्चै नै मानव जातिको सर्वांगिण विकासमा योगदान दिएको पाइन्छ। तर जसरी इतिहासले ति सभ्यताहरुको निर्माण गर्यो – त्यसरी नै इतिहासको कुनै कालखण्डले ति सभ्यताहरुको बिनासमा पनि उत्तिकै भुमिका खेलेको देखिन्छ।
सभ्यताहरुको विकास र बिनासमा इतिहासले भूमिका खेलेको भएपनि तिनीहरुका सुन्दर पक्षहरुको पुनर्जीवन नै आजको बिकसित विश्वको आधार भएका थुप्रै प्रमाणहरु छन्। चौधौं शताब्दीदेखि शुरु भएको पुनर्जागरणको युगलाई वास्तवमै कला, संस्कृति, साहित्य, बिज्ञान, अन्वेषणको प्रारम्भको युगको रुपमा लिन सकिन्छ जसले आधुनिक युरोपको बाटो कोर्ने कार्यमा कोशेढुंगाको काम गर्यो। वास्तावमा सन् १३०० मा इटालीबाट शुरु भएको पुनर्जागरण प्राचिन ग्रीक सभ्यताको कला र संस्कृतिलाई बिउत्याउने अभियान थियो, जसले सम्पूर्ण युरोप भर नै कला, साहित्य, संस्कृति मात्र नभई बिज्ञान र प्रबिधिको विकासलाई पनि मार्ग प्रशस्त गर्यो। वर्तमान युरोपेली वास्तुकला तथा आधुनिकीकरणमा पनि तिनै प्राचिन कला र संस्कृतिको झझल्को पाउन सकिन्छ। त्यति मात्र होइन आफ्नै मौलिक सभ्यता नभएता पनि युरोपियन सभ्यता र सिकाईको छायामा अमेरिकाले विकासको फड्को मारेको देखिन्छ।
सभ्यता सामाजिक विश्वासको आधार हो, जसले समुदायलाई बिबेकशील मार्गमा हिड्न अभिप्रेरित गर्छ। कन्फ्युसियनिजम र ताओईजमको आधारशिलामा बिकसित सिनिक सभ्यताले चीन, जापान, ताइवान, मंगोलिया, कोरिया र भियतनामलगायतका पूर्वी एशियन मुलुकहरुमा फरक सामाजिक संस्कारको विकास गरेको थियो, जसले तत्कालिन समुदायलाई कर्तव्य निष्ठ बन्न, कामप्रति प्रगाढ आस्था राख्न तथा नेतृत्व प्रति बिश्वास गर्न अभिप्रेरित गरेको थियो। कन्फ्युसियनिजमले "सेज किंग" को परिकल्पना गरेको छ जो बिधि, कानुन र शक्तिको साथै नैतिकता, अहिंसा, मानवता र कर्मयोगी दृष्टिकोणवाट प्रेरित हुन्छ। वास्तवमा सिनिक सभ्यताले डोहोर्याएको बाटोलाई ति मुलुकहरुको राजनीति, विकास र प्रशासनले अहिले पनि अंगिकार गरेको देखिन्छ। यो सन्दर्भमा चीनले अघि सरेको "सिल्क रोड" अवाधरणालाई त्यसैको आधार मान्न सकिन्छ।
प्राचिन सभ्यताले विकास गरेको दर्शनको अनुशरण युरोपीयन र चिनियाँ विकास र उन्नतिमा पुनर्जीवित भएको भए पनि पुर्वी र दक्षिण एशियाका मुलुकहरुमा विकसित मेसोपोटामिया, सिन्धु, इन्दुस सभ्यताहरु ओझेलमा परेको देखिन्छ जसको परिणाम स्वरूप ति मुलुकहरुमा विकासको आधारशिला बन्न नै सकेन। युरोपेलीहरुले मध्यकालीन युगमा धार्मिक जडताको मारमा परेको प्राचिन ग्रीक/रोम सभ्यतालाई पुनर्जागरण मार्फत पुनार्जीविन मात्र दिएनन् समग्र युरोपको विकासको जग बसले। यता सिनिक सभ्यताले चीन, जापान, कोरिया, भियतनाम लगायतका पुर्वी एशियन मुलुकहरुको विकास योगदान दियो। तर पुर्वी र दक्षिण एसियामा केन्द्रित सभ्यताहरू विकासको आधारशिला बन्न सकेनन्? यी सभ्यताले उठान गरेका संस्कार, कला, साहित्य र प्रबिधि प्रयोगमा तत्कालिन नेतृत्वहरुको ध्यान जान सकेन।
सभ्यताको केन्द्र नेपाल
संसारका प्राचिन देशहरु मध्येको एउटा देश नेपालको ऐतिहासिक पृष्टभूमि हेर्दा यो आफैमा सभ्यताहरुको केन्द्र जस्तो आभास हुन्छ। चीनको ह्वाङहो र याङ्सी नदीको महासभ्यता मूल भएका मंगोलीयनहरु, आष्ट्रिक र द्रविड महासभ्यता मूल भएका थारु, राजवंशी, ताजपुरिया, दनुवारलगायतका तराईका अधिकांश जनजाति, खस महासभ्यताबाट आएका खस (जुम्ला र डोटी मुख्य थलो बनाइ बसेका), वैदिक आर्य महासभ्यतावाट विकसित खस जो (तराईको भूभागमा बसोबास गर्छन्), र इस्लाम महासभ्यता मूल भै नेपाल मा बसोबास गर्ने मुसलमान समुदायको संयुक्त रुपनै नेपाल बन्न पुगेको देखिन्छ।
प्राचिन कालदेखि नै विभिन्न सभ्यताका केन्द्रबाट समुदायहरु वर्तमान नेपालको भूभाग आवतजावत गर्ने प्रचलनका ऐतिहासिक प्रमाणहरु धेरै भेटिन्छन्। द्वापर युग, महाभारत कालिन युगदेखि गौतम बुद्ध कालिन युगका प्रसङ्ग जोड्ने हो भने यो भुमिलाई पुर्वीय बैदिक सभ्यताको केन्द्र मान्न सकिने थुप्रै आधारहरु छन्।
सभ्यता, पहिचान र विकास
वास्तवमा सभ्यताहरू हाम्रा पहिचान हुन्। जसमा प्रत्येक समुदायको संस्कार, रहनसहन, संस्कृति, कला तथा आर्थिक/सामाजिक पक्षका बिबिध पक्ष जोडिएका हुन्छन्। पहिचानप्रति समुदायको अपनत्व झल्केको हुन्छ जसले समाज विकासको गतिलाई तिब्रता दिन सहयोग गर्छ। पुनर्जागरण युगमा नवजीवन पाएका प्राचिन कला, साहित्य, संस्कृति र प्रविधिको आडमा आधुनिक युरोप मात्र बनेन हालको सर्वशक्तिमान राष्ट्र अमेरिका पनि त्यहि सभ्यताको जगमा अहिलेको अवस्थामा आइपुग्यो। सिनिक सभ्यताले दिएको शैद्धान्तिक मार्गदर्शनका आधारमा पुर्वी एशियाली मुलुकहरुले विकासको फड्को मारिरहेका छन्। ति देशहरुको प्रगतिशील उन्नतिमा पहिचानको रुपमा जोडिएको प्राचिन सभ्यताको ठुलो हात छ।
नेपाललागायत मध्य पुर्वी तथा दक्षिण एशियाली मुलुकहरुको विकासको गति तुलनात्मक रुपमा कम हुने कैयन कारणहरू मध्ये विकासप्रति सामाजिक अपनत्वमा कमी हुनु पनि एक हो भने विकासमा सामाजिक अपनत्व कम हुनमा विकासले सामाजको ऐतिहासिकतालाई समेट्न नसक्नु अर्को कारणको रुपमा रहेको देखिन्छ। प्रत्येक समाजको आफ्नो मौलिक शैली हुन्छ जुन उनीहरुले पुस्तौंदेखि अवलम्बन गर्दै आएको कला, संस्कृति, साहित्य, भाषा, भेषभुषा, संस्कार र मनोविज्ञानमा झल्किन्छ। तिनै शैलीलाई समाजको मौलिकतामा खलल नपर्ने गरि आधुनिकीकरण तथा व्यावसायीकरण गर्दै लैजाने प्रकृयालाई पहिचानमा आधारित विकास प्रणालीले समेट्छ। जुन कुराको अभ्यास हाम्रो जस्तो अल्पविकसित मुलुकमा एकदमै कम हुने गरेको छ।
पहिचान र विकास
पहिचानमा आधारित विकास प्रारुपले एकातर्फ सरकारका विकास केन्द्रित गतिविधिमा सामाजिक अपनत्व बढाउछ भने अर्को तर्फ विकासको नविनतम नमुना निर्माणमा पनि सहयोग गर्छ। संघीयताको अभ्यास संगै विकसित र सम्बृद्ध मुलुक निर्माणका बहसहरु धेरै भए। तर सामाजिक तथा मानव बिकासका आयामहरुलाई पुर्बाधार विकाससंग कसरी जोड्ने भन्ने दिशातर्फ एकदमै कम बहसहरु भएका छन्। पुर्बाधार विकासले समाजलाई आधुनिकतातर्फ लैजान सहयोग गर्ला तर समाजमा अन्तर्निहित मौलिकताको समानान्तर विकास नहुन्जेल विकासले पूर्ण रुप धारण गर्न सक्दैन। पुर्बाधार बिकासको पहिलो सर्त मानव विकाससंग जोडिन्छ भने मानव विकास समाजको कला, संस्कार, मनोविज्ञान र संस्कृतिसंग जोडिन्छन्, जुन समाजको पहिचान हो। तसर्थ सामाजिक अपनत्वसहितको विकास हाँसिल गर्न सामाजिक पहिचानको समयानुकूल उत्थान अपरिहार्य बन्न जान्छ।
पुर्वी बैदिक सभ्यताको मुख्य कमजोरी भनेकै आफ्नो ऐतिहासिक सम्पतिको पहिचान गर्न नसक्नु हो। जसको परिणाम स्वरूप हाम्रा कला, संस्कृति, साहित्य अनि प्रबिधि कि त मासिए, कि त अतिक्रमणमा परे। हाम्रा इतिहासका दिब्य सन्देशलाई जहिले पनि छायामा पारे। एकले अर्काको सामाजिक तथा ऐतिहासिक पहिचानलाई कमजोर देखाउने कार्यमा धेरै समय खर्च भयो। तर कहिले पनि इतिहासले छोडेर गएको सामाजिक सम्पतिको संरक्षण गर्ने काम गरिएन, जुन ग्रीक र रोम सभ्यतासंग जोडिएका युरोपेली देशहरु र चीन, जापान, कोरियालगायतका सिनिक सभ्यतासंग जोडिएका देशहरुले गरे। त्यसैले सामाजिक अपनत्व सहितको विकासको लागि हाम्रा ऐतिहासिक केन्द्रहरुलाई सभ्यताका केन्द्रको रुपमा पुनर्जीवित गरिनु पर्छ।
स्थानीय सरकारको भूमिका
संविधानले प्रदान गरेको अधिकारका आधारमा बनेका संघ, प्रदेश र स्थानीय सरकारहरु आफैमा त्यस्ता शक्तिशाली निकायहरु हुन्, जसले संबिधानको दायरा भित्र रही पूर्ण स्वायत्तताका साथ काम गर्ने क्षमता राख्छन्। तसर्थ राजनीतिक परिवर्तनको अपेक्षा बमोजिम भएको रुपान्तरणकारी परिर्वतनले समुदायको घरदैलोमा अधिकार मात्र पुर्याएको छैन। स्थानीय तहका राजनीतिक व्यक्तित्वहरुलाई आफ्नो क्षेत्रमा विकास र सम्बृद्धि ल्याउन क्षमता प्रर्दशन गर्ने अवसर पनि प्रदान गरेको छ। बलियो इच्छा शक्ति र दीर्घकालिन सोचयुक्त राजनीतिक नेतृत्वहरुले आगामी ५ वर्ष भित्र आफ्नो गाउँपालिका तथा नगरपालिकालाई साँच्चिकै नमुना बनाउन सक्ने अवसर पाएका छन्।
प्राचिन सभ्यताका केन्द्रबाट आएका विभिन्न जात जातिको संगमस्थल भएको कारण नेपालका प्रत्येक स्थानीयको आफ्नै ऐतिहासिक पहिचान छ, जुन समाजमा सुसुप्त रुपमा लुकेर बसेको छ। तसर्थ आफ्नो समुदायको ऐतिहासिकतालाई सम्बोधन गर्ने गरि स्थानीय सरकारले अव कानुन बनाउने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्न सक्छन्। आफ्नै परिवेश सुहाउँदो सामाजिक पहिचानलाई सम्बोधन गर्ने खालको शिक्षा नीति, रोजगार नीति, पूर्बाधार नीतिलगायतका महत्वपुर्ण नीतिहरु बनाएर कार्यान्वयनमा लैजान सक्छन् जसले स्थानीय सरकारको कामलाई उदाहरणीय बनाउन मात्र होइन विकासमा सामाजिक अपनत्व बढाउन पनि भूमिका खेल्छ। यसबाट स्थानीय सरकारहरुले पहिचानमा आधारित मौलिक विकासको थालनी गर्न सक्छन्।
No comments:
Post a Comment