Tuesday, June 16, 2020

राजनीतिक पुस्तान्तरणको आवस्यकता

नेपालको इतिहासमा जति कम उमेरका शासक थिए, उनीहरुको काम त्यतिकै गर्ब गर्न लायक थियो अनि देश पनि मजभुत थियो | तर जति जति हामी प्रजातन्त्र तथा लोकतान्त्रिक गणतन्त्रको युगान्तकारी व्यवस्था तर्फ पाइला राख्दै गर्दा पुरातनवादी मानसिकताका भएका, आत्मरति भन्दा माथि उठ्न नसकेका, अनि आडम्बरी शैलीका राजनीतिक नेतृत्वबाट शासित हुन बाध्य छौ | 

आधुनिक नेपालको इतिहासको शुरुवात देखि हाल सम्मका शासकको उमेर र उनीहरुको दूरदर्शीता र निणर्य क्षमताको तुलना गर्दा व्यवस्था परिवर्तन भएर पनि युवाको अपेक्षा अनुसार देश परिवर्तन नहुनुको कारण खोज्न सकिन्छ | राजा महेन्द्र सम्मका शासकले कम उमेरमै देशको शासन सम्हालेका भए पनि उच्च निर्णय क्षमता देखाएका थिए, परिणाम स्वरूप चीन, दक्षिण कोरिया भियतनाम लगायत का बजार अर्थतन्त्र हरुको त्यो बेलाको आर्थिक सामाजिक अवस्था र नेपाल को आर्थिक सामाजिक अवस्थामा खासै अन्तर थिएन | तर २०४६ साल पछीका अधिकांश शासक ६० बर्ष नाघेका छन् भने उनीहरुको कमजोर निर्णय क्षमता र अदूरदर्शीता ले देशलाई आर्थिक तथा सामाजिक दृष्टिकोणले पछी धकेलो देखिन्छ |

बिक्रम सम्बत १७७९ मा जन्मिएका पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तार गर्न शुरुवात गर्दा जम्मा २० बर्षका थिए | उनी ४० बर्ष पुग्दा त् काठमाडौँ उपत्यका जितेर नेपाल एकीकरणको मार्गचित्र कोर्न भ्याईसकेका थिए |  त्यसै गरि उनलाई राज्य बिस्तारमा सहयोग गर्ने काजी कालु पाण्डे बिक्रम सम्बत १७७४ मा जन्मिएका थिए | गोर्खा राज्यको काजी पद सम्हाल्दा उनको उमेर ३० बर्ष जति मात्र थियो | त्यसै गरि बि स १८१४ मा जन्मिएका बहादुर शाहले देशको कार्यभार सम्हाल्दा उनको उमेर ३० -३५ बर्ष कै हाराहारीमा थियो | त्यसो त आज पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु भइ बहादुर शाहको नेतृत्वमा पूर्वमा टिस्टा र पच्चिममा सतलजसम्म भएको नेपाल राज्यको विस्तारलाई बिभिन्न कोण बाट हेर्ने गरिन्छ | तर बिस बर्षको उमेरमा राज्य बिस्तारको सोच बनाउनु र त्यसलाई पुरा गर्नु चानचुने कुरा पक्कै थिएन होइन | पृथ्वीनारायण र बहादुर शाहको सोच, निर्णय क्षमता, अनि दूरदर्शीताले नै आज हामीले नेपाली भनेर गर्ब गर्ने भएका छौ |

नेपाल एकीकरणमा महत्वपूर्ण योगदान गर्ने सरदार अम्बर सिंह थापाको उमेर एकीकरण अभियान ताका ३५ -४० बर्ष को थियो भने इतिहासकै सबै भन्दा शक्तिशाली प्रधानमन्त्री भीमसेन थापाले बि स १८६३ मा शासन सम्हाल्दा उनको उमेर ३१ बर्ष को थियो | हुन त आफु शक्तिमा आउन आफ्ना बिरोधीहरु प्रति देखाएको क्रुर र अमानवीय व्यवहारलाई नेपाली इतिहासको कालो धब्बा नै भन्नु पर्ला | तर दक्षिण एसियामा नेपाललाई शक्तिशाली राज्यको रुपमा स्थापित गर्नमा उनको ठुलो हात थियो |

बिक्रम सम्बत १८७४ मा जन्मिएका  नेपालको इतिहास का अर्का शक्तिशाली व्यक्ति जंगबहादुर राणा बि स १९०३ मा मुख्तियार बन्दा २९ बर्षका थिए | उनी दरबारिया भाइ भारदारको षड्यन्त्र, कमजोर राजा, अनि रानी को हैकमबाट कमजोर भएको राज्य प्रणालीको फाइदा उठाउदै आफु शक्तिमामा आए | उमेर सानो भए पनि देशको शान बचाउने कुरामा उनको महत्वपूर्ण योगदान छ | अंग्रेजलाई खुशी परि आफ्नो गुमेको केहि भुमि फिर्ता ल्याउनु, तिब्बत युध्द पछी को थापाथली सन्धि, मुलुकी ऐन को निर्माण उनका युगान्तकारी काम हुन् | व्यापक सामाजिक सुधारको अवधारणा सहित १९५७ बिक्रम सम्बत मा प्रधानमन्त्री भएका देब शमशेर जम्मा ३७ बर्ष का थिए भने सति प्रथा को अन्त्य गर्ने चन्द्र शम्सेर बिक्रम सम्बत १९५८ मा प्रधानमन्त्री हुँदा ३८ बर्ष का थिए | चन्द्र नहर, चुरिया सुरुङ, फर्पिङ जलबिद्युत योजना लागायत तत्कालिन अवस्थामा महत्वाकांक्षी योजना शुरु गरेका उनले नेपालमा शिक्षा र पूर्वाधारको जग बसाएका थिए | आज सम्म एउटा पनि सुरुङ निर्माण नभएको नेपालमा लगभग १०० बर्ष अगाडि नै सुरुङ मार्ग निर्माणको ऐतिहासिक सुरुवात भएको थियो |
२००७ सालको परिवर्तन पश्चातका अर्का शक्तिशाली प्रधानमन्त्री बि पी कोइराला २०१६ साल मा प्रधानमन्त्री हुँदा ४६ बर्ष का थिए | हुन त् बिपी कोइरालाले लामो समय सम्म शासन त् गर्न पाएनन् | तर उनले विकास गरेको प्रजातान्त्रिक समाजबादको अवधारणाले नेपाली राजनीतिलाई मार्गनिर्देशन गरेको थियो | बिपीको विचार र उचाई नेपालमा मात्र होइन एसियाली नेताको रुपमा विस्तार भएको थियो | बिपीको विचारमा नै उनको दूरदर्शीता झल्केको थियो त्यसैको ब्याजमा आज कांग्रेस बाँचिरहेको छ |
बिपी कोइराला पछी युगान्तकारी निर्णय क्षमता भएका अर्का व्यक्तित्व राजा महेन्द्र हुन् | नेपाल लाई बिश्व मन्चमा चिनाउने, औद्योगिक बैंकिङ तथा शैक्षिक बिकासको जग बसाल्ने तथा नेपालमा योजनाबद्ध बिकासको सुरुवात गर्ने कुराको श्रेय यिनलाई जान्छ | बिक्रम सम्बत २०१३ सालमा राज्यारोहण गर्दा राजा महेन्द्रको उमेर ३६ वर्ष थियो |
हुन त माथि उल्लेखित पत्रहरुको सम्पूर्ण निर्णय सहि थिएन | तर उनीहरुले गरेको कामले नेपालको सामाजिक तथा आर्थिक बिकासको दीर्घकालीन बाटो कोरेको थियो |  तत्कालिन समयको मागलाई सम्बोधन गर्न उनीहरुको निर्णय परिपक्व र दिगो थियो | उनीहरुमा समकालीन समाजलाई बुझ्ने क्षमता देखिन्छ | आफु शक्तिशाली हुन जे गरे पनि देश प्रति उनीहरुमा माया र लघाभ देखिन्छ |

नेपाली राजनीतिक नेतृत्वमा मात्र होइन निर्णय क्षमतामा पनि बुढौलीपन चाही २०४६ को प्रजातान्त्रिक पछी आएको देखिन्छ | ६७ बर्षको उमेरमा  बिक्रम सम्बत २०४८ सालमा प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाले बस्ताब मै नेपाली राजनीतिमा बेथितिको सुरुवात गरे – फगत आफ्नो निजि स्वार्थका लागि | नेपालको राजनीति, प्रशासन र सुरक्षा संयन्त्रलाई अनिर्णयको बन्दी बनाउने, सरकारी संस्थान तथा शैक्षिक संस्थालाई राजनीतिक भर्ति केन्द्र बनाई निजि क्षेत्रलाई बढावा दिने काम को सुरुवात नै उनले गरेका थिए | भलै जिबन को अन्तिम अवस्थामा बृहत शान्ति सम्झौता मार्फत तत्कालिन माओबादी लाई शान्ति प्रक्रिया ल्याई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र श्रेय उनलाई जान्छ तर देशले यो अवधिमा जुन किसिमले विकासको फड्को मार्न सक्थ्यो त्यो हुन नसक्नुमा उनकै अदूरदर्शी कार्यशैली जिम्मेवार छ | बिश्व का प्रमुख बजार अर्थतन्त्रको दिगो बिकासको सुरुवात नै १९८० र ९० को दशक बाट भएको देखिन्छ | नेपालमा पनि इमान्दार र दूरदर्शी नेतृत्व भैदिएको भए आजको अवस्था अर्कै हुने थियो |
उनि मात्र होइन ४ पटक प्रधानमन्त्री भैसकेका ७३ बर्षीय शेरबहादुर देउवा पनि नेपाली राजनीतिमा बिकृति ल्याउन जिम्मेवार नेता हुन् | उनको निर्णय क्षमता को कमि, अदूरदर्शीता तथा बालहठले नेपाली कांग्रेसलाई मात्र होइन समग्र राजनीतिलाई पनि र देश बिकासको गतिलाई पनि कमजोर बनाइदिएको छ |
त्यसै गरि ५७ बर्ष को उमेरमा २०६४/६५ मा प्रथम पटक प्रधानमन्त्री बनेका प्रचण्डको अदूरदर्शी निर्णयले देशले राजनीतक स्थाइत्व प्राप्त गर्न करिब १२ बर्ष कुर्नु पर्यो | हाल दुइ तिहाई सरकारको नेतृत्व गरिरहेका ६७ बर्षीय के पी ओली इतिहासकै शक्तिशाली प्रधानमन्त्री भए पनि "मेरा गोरुका बार्है टक्का" भन्ने स्वभावका कारण आफै कमजोर बन्दै गैरहेका छन् | देश संघियतामा गए पनि उनको केन्द्रिकृत सोचाइले सोचे जस्तो प्रतिफल दिन सकेको छैन | आफ्नै दुरदर्शी विचारको अभाब हुनु, पार्टी र आफु इतरको सुझाबलाई ग्रहण गर्न रुची नदेखाउनु, गलत तर्कको सहायताले आफुलाई राम्रो र उत्कृस्ट बनाउन खोज्नु उनका कमजोरी देखिएका छन् | उनि यति शक्तिशाली छन् कि अहिलेको मन्त्रिपरिषद्को एउटा निर्णयले युगान्तकारी परिवर्तन ल्याउन सक्छ | तर सबल र दूरदर्शी सोचका अभाबका कारण उनी आफैमा अल्मलिएका छन् |
त्यसो त बृद्ध हुदैमा निर्णय क्षमता कमजोर हुन्छ भन्न सकिदैन | २०४६ साल पछी पनि मनमोहन अधिकारी, कृष्ण प्रसाद भट्टराई, बाबुराम भट्टराई जस्ता देश प्रति इमान्दार बन्न चाहने शासकले शासन गरे तर उनीहरुलाई विभिन्न बहानामा निकम्मा बनाउने काम उनीहरुकै पार्टीबाट भयो | गणेशमान सिंह श्रेष्ठ कृष्ण प्रसाद भट्टराई लाइ तत्कालिन कांग्रेसले यति अपमान गर्यो कि उनीहरु पार्टीबाट बाहिरिन बाध्य भए | मनमोहन अधिकारीको नौ महिने शासन कालको ब्याजमा बचिरहेको तत्कालिन एमालेले पनि उनको सम्मान कायम राख्न सकेन | यी सबै कुराको एक मात्र कारण के देखिन्छ भने आजीवन पार्टी र सरकारको नेतृत्व गर्ने आकांक्षामा इमान्दारहरुको बलि चडाइयो, फलस्वरुप राजनीति अनिर्णयको बन्दि बन्न पुग्यो |

नेपालको हकमा इतिहासको कुनै कालखण्डमा कम उमेर भएका नेतृत्वले गरेको परिपक्क निर्णय क्षमताले देशको शिर ठाडो थियो | तर आज बामे सर्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको पहरेदार पुरातन सोचाई भएका बृद्धहरु भैदिदा बदलिएको सामाजिक सोचाई अनि आर्थिक अवस्थालाई सम्हाल्न नसक्ने अवस्था आउने देखिन्छ | आज देश मात्र सङ्घीय गणतन्त्रमा प्रवेश गरेको मात्र होइन  | विश्व भूमण्डलीकरण र आर्थिक उदारीकरणको प्रभावले नेपालका युवा वर्ग बिश्वका नविनतम सोच र प्रबिधि को सिधा पहुचमा छन् | उनीहरुको आकांक्षा, सोच र क्षमता पनि फेरिएको छ | त्यसैले आजको नेतृत्वले उनीहरुको क्षमता सोचलाई सम्बोधन गर्ने गरि शासन गर्न सक्नु पर्छ | बिश्व भरि समावेशीकरण सहितको बिकासको लहर चलिरहदा हाम्रा समाज, जातजाति अनि वर्गमा अन्तर्निहित सामाजिक पुंजीको रुपमा रहेको संस्कारलाई नेतृत्व गर्नेले समेट्न सक्नु पर्छ | प्रशासनिक संयन्त्रलाई समयानुकूल परिवर्तन गर्न सक्नु पर्छ | यस्तो कुराको बिश्लेषण गर्न नसक्ने पार्टी र नेतृत्वले युवाको आवाज र आक्रोशलाई थेग्न सक्दैनन् | काठको टुक्रालाइ रकेटको आकार दिएर चन्द्रमा पट्टि फर्काउदैमा त्यो रकेट हुन सक्दैन | रकेट बनाउन त्यहि अनुरुपको सोच, लक्ष्य सोच र दक्षता नेतृत्व हुनु आवस्यक छ जुन अहिलेको राजनीतिक पुस्ता बाट सम्भब देखिदैन |

No comments:

Post a Comment