Monday, May 18, 2020

अकर्मण्यता

“हेर्नु न कति पानी परेको ! सिम सिम पानीमा यात्रा गर्दा सारै आनन्द लाग्छ मलाई ।” मन्द मुस्कानका साथ उनले आफ्नो मनोभाव व्यक्त गरीन । 
“तपाईले मेरै मनको कुरा गर्नु भयो ।” मैले पनि उनको कुरामा सहमती प्रकट गरे । 
“पानी त केटीलाई पो मन पर्छ त, केटा भएर पनि तपाईलाई चाही कसरी मन परेको नि ?” 
“पुरुष भनेको ओत हो नि त । भिज्न त दिनु भएन नी ?” 
“सिल्ली !!??” उनले स्वीकारोक्ती सहितको विपती जनाईन  । 
यात्रा क्रमिकरुपमा रमाइलो बन्दै गइरहेको थियो । त्यसो त मेरो महिलासँग विरलै मात्र राम्रो सम्बन्ध हुने गर्छ । कतिपय त मलाई देख्ने वित्तिकै रिसाईसकेका हुन्छन् । खै किन हो, मैले वुझ्न सकेको छैन । मन भित्र असिम प्रेमालापको चाहाना हुदा हुदै पनि मेरो छाहारीलाई मन पराउनु पर्नेहरुले मन पराइदिएको जस्तो अनुभूति मैले सायदै गरेको छु । 
तर किन हो यो यात्राकी सारथीसँग अघिदेखि खुव कुरा मिलिरहेको थियो । रात भरीको यात्राको पुर्वाधमै नजिक हुदै गईरहेका थियौं ........कुराले । स्याङ्जाबाट ६ वजे हिडेको वसले साढे आठ तिर दमौली तिर खाना ख्वाउला भन्ने अपेक्षा गर्न सकिन्थ्यो । तर हामीले त्यो भन्दा अघिनै धेरै कुरा पकाईसकेका थियौ......मनमा ।  अझ मेरालागि त यो एउटा दुर्लव अवसर थियो । त्यसैले म खाना पछिको समयका लागि व्यग्र थिए — सायद उनी पनि । तर इश्वरीय देन नै छ महिलाहरु माथि — उनीहरु संयमित हुन्छन, प्रोटेक्टिभ हुन्छन अनि कहिल्यै आफू अघि बढ्दैनन्, यानेकी शुरुवात पुरुषवाट भएको हेर्न रुचाउछन । 
खाना पछिको समय हाम्रा लागि यो यात्राको दोस्रो इनिङ थियो । मेरो अपेक्षा थियो अव हाम्रो गफमा मधुरता आउदै जानेछ । 
“मलाई राती यात्रा गर्न एक दम मन पर्छ तर मेरो मिसेसले दिदैन ।” मैले मेरो वास्तविकताको छनक दिदै कुराको शुरुवात गरे । 
“ए तपाई म्यारिड हो ? पत्नीव्रताको हुनुहुदो रैछ त ।” 
मेरो विचारमा महिलाहरु इमान्दार पुरुष मन पराउछन । त्यसैले मैले पनि इमान्दार हुने प्रयत्न गरे । तर उनको “पत्नीव्रता” शब्दले अलि झस्कायो । 
पत्नीव्रता हुनु नराम्रो हो र ? मैले प्रतिप्रश्न गरें । 
हैन । उनको छोटो जवाफ थियो । 
गाडीको रफ्तार चलिनै रहेको थियो । तर हाम्रो कुराकानीको रफ्तारमा चाहि अलि गडवढी उत्पन्न भए जस्तो महसुस भयो । 
अव सुत्ने होला है । उनको भनाईमा मैले स्वीकारोक्ती स्वरुप टाउको हल्लाए । 
एक छिन अघिसम्म हिमाल झै अग्लिदैगएको हाम्रो सम्वन्ध अपेक्षाकृत रुपमा अघि वढ्न सकिरहेको थिएन । एउटा “पत्नीव्रता” भन्ने शव्दले उनमा यस्तो परिवर्तन ल्याएको हो त ? म सोच मग्न भए । फेरी सोचे महिलाहरु त प्रकृति हुन जसको उपयोग गर्ने काम त पुरुषको हो । प्रकृति आफै उठेर अंगालो हाल्ने कुरा पनि त भएन । 
फेरी पत्नीव्रता शव्दले मनमा अर्को तरंग उत्पन्न गराईदियो । प्रकृतिको उपयोग भन्दैमा त्यसको जथाभावी दोहन पनि त ठीक होईन ।  कहिले काही उसले भन्ने गरेको व्यंग्यवाँड सम्झन्छु — “विहे भएको यत्तिका वर्ष तिमीले के मेरोलागि के गर्येउ ? 
हुन पनि हो, मैले उसकालागि के गरे र । मेरो सोझो व्यवहारले कमाएको धनले साँचै भन्नुपर्दा उसका न्यूनतम आकांक्षा पनि पुरा गर्न सकेको छैन मैले । बुढोलाई अफिसर वनाउन लक्ष्य वोकेकी थिई । तर म अध्ययन अनुसान्धनको क्षेत्रमा काम गर्ने एकोहोरो रटानका साथ झोले जिवन विताईरहेको छु । उसका लागि मैले दिने भनेको यही एउटा इमान्दारिता न हो । फेरी यही पनि गुमाएपछि ..........। 
मैले उनलाई हेरे । झ्याल पट्टि फर्केर सायद निदाइरहेकी थिइन । गाडीको चालले हो वा जानीजानी म तिर ढेप्पिन खोजेको आभास हुन्थ्यो । फेरी एक मनले मैले इमान्दार भएर चाही के पाए ? मैले विद्यार्थी जिवनको साथी रमेशको भनाई सम्झे — “केशव, विश्वासयोग्य एकान्तताको अवसर पाउने हो भने यहाँ कोही पनि इमान्दार हुदैन, सवैले आफ्नो अन्तरआत्माले चाहेको कुरा उपभोग गर्न खाज्छन । त्यसैले यहाँ महिला/ पुरुष भन्ने नै हुदैन  ।”
हुन त रात्रीकालिन वसको यात्रानै एउटा यस्तो यात्रा हो जहाँ चरम एकान्तवासको साक्षी धरै निन्द्राहरु हुने गर्दछन । त्यसैले वाजा वजाएर आएको अवसरलाई चिन्न सक्नु पर्छ । मैले हिम्मत कस्ने अठोट गरें । मैले उनको वायाँ पाखुरालाई छुने कोशिस गरे । तर उनले मेरो हात हटाउने कोशीस गरिन । मनको चाहान पोख्ने समस्याको सामाधान चरम एकान्त पनि त होईन । दुई विपरीत धुर्वहरु स्वइच्छाले मिले भने केही होला तर मिल्नै नचाहाने ध्रुवलाई मिलाउन कोशीस गर्दा त्यसले ल्याउन सक्ने सुनामीको आँकलन कस्ले गर्न सक्छ । मैले फेरि मेरो इमान्दार छविलाई जोगाउन खोजे । 
 त्यसो त मैले प्रेमलाई चिन्नै सकिन । कहिले काहीँ त यस्तो लाग्छ — म  पुरुषत्व नभएको त्यस्तो पुरुष हुँ जसले कैयौं आकांक्षीको मनोविज्ञानलाई लत्याएको छ वा उनीहरुले चाहेको प्रेमभावलाई क्षण भरमै खरानी वनाएको छ । रातो गुलावको फुल वनाएर म प्रतिको प्रेमभाव झल्काउन पोष्टकार्ड दिएकी रश्मी त्यतीवेला झसंग भएकी थिइ जतिवेला मेरो एस एल सी विग्रिन्छ भनेर उसको उपहारलाई मैले लत्याए । हुन त रश्मी मलाई मन नपर्ने पनि होईन । वेन्चको कुनाबाट उसलाई चियाएर हेर्न सारै मन पर्थ्यो — उ पनि लजाउथी । तर कथाले रंगमञ्चको माग गर्नु अगावै उ वाट टाढिए । 
मेरा असफल, अव्यक्त अनि एकतर्फी प्रेमका किस्साहरु यतिमै सिमित थिएनन । तर सवै प्रेमालाप अवसरहरुको अन्त्यष्टी मेरै तर्फवाट भए —वाजा वजाएर आएका अवसरहरुको ध्वनी नचिन्दा । कसैलाई रंगमञ्चमा वोलाएर आफू चाही त्यहाँवाट भागेका किस्साहरु, कसैलाई क्षणिक सैद्धान्तिक आर्दशको पाठ पढाएर, अनि कसैको मनोविज्ञानलाई वेवास्था गरेर पछि पछुताएका किस्साहरु । म ठान्थे प्रेम भन्दा अगाडि व्यक्तित्व बनाउनु आवस्यक छ जुन निरन्तरको शैक्षिक अभ्यासबाट प्राप्त हुन्छ र त्यसका लागि प्रेममा त्याग आवस्यक छ | तर न मेरा आदर्शले मलाई योग्य नागरिकको पगरी गुथायो न त मैले प्रेमालापका अवसरहरुको उच्चतम उपभोग नै गर्न सके । 
उफ् !!!??? दुई वजि सकेछ । मैले उनलाई हेरें । जूनको प्रकाशमा टल्किएको उनको अनुहार साँच्चिकै खुलेको थियो । सायद उनको अनुहार अतृप्त चाहान र अपेक्षाले भरिएको थियो । वैदिक सम्भताले महिलालाई प्रकृति र पुरुषलाई चेतनासँग तुलना गरेको त्यसै होईन होला । पुरुष भित्रको चेतनाले मात्र महिलाको सौन्दर्यतालाई चिन्ने क्षमता राख्छ । प्रकृति र पुरुष विचको अन्तरकृयाबाट नै यो संसार चलेको छ । त्यसैले होला मेरो आँखा उनको चमकपूर्ण अनुहारमा आकृष्ट भएको । प्रेम, स्पर्श अनि त्यसबाट उत्पन्न हुने तरंगले प्रत्येक पुरुषको पुरुषत्वलाई अझ प्रज्वलित बनाईदिन्छ । 
तर यी त सव सैद्धान्तिक कुरा भए । पाश्चातय साहित्यले पनि भनेको छ “इटिज बेटर टु किस समवन देन टु वाच समवन एल्स किसिङ” — कसैले चुम्वन गरेको हेर्नु भन्दा आफै चुम्वन गर्नु राम्रो । कम से कम सिद्धान्तलाई व्यवहारमा सक्ने पुरुष पो पुरुष त । भावनामा वहकिएर प्रकृति र पुरुष विच अन्तरघोलन होला त ? विवाह त एउटा वन्धन न हो, त्यो पनि कमजोर धागोले बाँधिएको । उपयुक्त अवसर पाउँदा पनि त्यहि धागोमा बाँधिएर वस्ने हो र ? फेरी भौतिक शुखको चाहना कसलाई नहोला र | जीवनका कतिपय पक्षहरु बिज्ञानसंग पनि जोडिएका हुन्छन | हरेक प्राणी बीच को सम्बन्धमा उपयोगिताको ह्रास नियम लागु भइरहेको हुन्छ | भौतिक आनन्द पनि त् त्यस्तै हो | म दोधारमा परे – बिगतका किस्साहरु जस्तै कतै म फेरी पनि कसैको भौतिक चाहनाको बेवास्था गर्दै त छैन | बैदिक सनातन धर्मले त प्रकृति र पुरुष बिचको संसर्ग लाई पूर्ण रुपमा स्वतन्त्र मानेको छ | पुराणहरु मा वर्णित हाम्रा देवी देवताको प्रेमालापहरुका कथाहरुले हामी लाई त्यहि सिकाउछ | 
मैले उनी तर्फ आफूलाई बढाउन कोशीस गरे । त्यो जुनेली रातको झरीमय यात्राको भरपुर उपयोग गर्ने निधो गरें । आँखा अगाडि सुम्निमा हुँदा हुदै, सोमदत्त बन्न चाहिन । 
.......................................................................
सर उठ्नुस न, थानकोट आईसक्यो । म झल्यास्स व्युँझे । ए म त सपनामा पो रैछु ।
सर त मज्जाले निदाउनुहुदोरैछ नि । मलाई त निन्द्र नै लागेन । 
मैले खिस्स हाँसेर प्रतिक्रिया दिए । 
सर कहाँ उत्रिनु हुन्छ ?
कलंकी । मैले भने । 
ए त्यसो भए त एक छिन गफ गर्न पाइने रैछ । उनी भन्दै थिइन । सर यो डाइरीमा तपाइको नाम र नम्वर लेखिदिनु न ।
 उनले एकै पटक धैरै कुरा भन्दै भइन । म वच्चा जस्तो उनले भनेको मान्दै गए । 
उनले मोबाइल निकालेर आफ्ना फोटाहरु यसरी देखाउन थालिनकी मानौ छोटो समयमा आफ्नो  जिवनीनै मेरा सामु पोख्न मन छ उनलाई । 
ए सतुङगल पनि आइएसकेछ कति छिटो । मैले विषयान्तर गर्न खोजे । 
त्यैत सर । राम्ररी गफ गर्न पनि पाईएन । राती पनि निदाएरै वित्यो । 
उनको अन्तिम शव्दले म किंकर्तव्यविमुढ भए । उनीसँगको यादगार क्षण त मैले सपना पो विताएको रैछु । आफ्नो अर्कमन्यता देखि आफैलाई ग्लानी भएर आयो । 
“यो मात्र त अन्तिम रात होइन नि हाम्रा लागि” परिस्थितीलाई सहज वनाउन कोशीस गरे मैले ।
“तर सर अवसर त वाजा वजाएर आउँदैन नि !!”

No comments:

Post a Comment