Friday, September 25, 2020

आर्थिक विकासको बहसमा छुटेको पाटो

 

सिराहा जिल्लाको भगवानपुर गाउँपालिकामा बसोबास गर्ने मल्लिक समुदायको बाँसका कलात्मक सामग्री बनाएर बेचबिखन गरी जीविकाेपार्जन गर्ने पुर्ख्याैली पेसा हाे । याे पेसा जीवन चलाउन उनीहरूका लागि पर्याप्त त हुँदैन तर त्यो कलाका लागि उनीहरूको परिवार दक्ष छ ।

नेपालमा मल्लिक समुदाय मात्र होइन, सम्पूर्ण आदिवासीलगायत अन्य समुदायको सामाजिक पुँजीको रूपमा रहेको रोजगारी सिर्जना आफ्नै मौलिक परम्परा छ, जसको व्यावसायिकरणले ती समुदाय दीगो रूपमा लाभान्वित हुन सक्छन् ।

पश्चिम नेपालका थारुहरू माछा व्यवसायमा विशेष रुचि राख्छन । पूर्वी नेपालका किराँत समुदाय मात्र हाेइन, गुरुङ, मगर, तामाङ्ग समुदायले श्रममूलक काममा बढी चासो राख्ने गरेको पाइन्छ भने मधेसी समुदाय प्राविधिक क्षेत्रमा बढी रुचि राख्ने गर्छन् ।

समुदाय विशेषसँग जोडिएर आउने यस्ता संंस्कार नेपाली समाजका सामाजिक पुँजी हुन्, जसलाई पुँजी निर्माणमा जोड्न सकेको खण्डमा यसले रोजगारी सिर्जना, पुँजी निर्माण तथा आर्थिक गतिविधिमा टेवा पुर्‍याउन सक्छ । अर्कोतर्फ नेपालका प्रत्येक जिल्ला कुनै न कुनै वस्तुको उत्पादनले प्रख्यात छन् । तीन तहका सरकारले उनीहरूको पेसालाई दीगो बनाउन आवश्यक नीतिगत व्यवस्थाका साथै अनुदान र बजारीकरणको व्यवस्था गरिदिने हो भने त्यही पेसाले उनीहरूको आर्थिक हैसियत बढ्न सक्छ भने रोजगारीका लागि धेरैतिर भौतारिरहनु पनि पर्दैन ।

ती समुदाय अर्थतन्त्रका साना ईकाई हुन्, जसको राष्ट्रिय अर्थतन्त्रमा खासै ठूलो भूमिका हुँदैन । तर, त्यस्तै खालको सामाजिक पुँजीको रूपमा रहेको माडवारी समुदायको व्यापारिक संस्कारले देशकै अर्थतन्त्रमा ठूलो भूमिका खेलेको छ । माडवारी समुदायको आर्थिक योगदान राज्यले उनीहरूका लागि गरेको लगानीका कारण भएको हाेइन । यो उनीहरूको पुर्ख्याैली परम्परा हो, जसका कारण उनीहरूकाे संस्कार देशकै अर्थतन्त्रको एउटा हिस्सा बनेको छ ।

अर्थतन्त्रको गुणात्मक वृद्धिका लागि व्यापक रूपमा पूर्वाधार विकास, ठूलो लगानी अनि प्रविधिको विकासलाई जोड दिने गरिन्छ । आर्थिक समृद्धि भन्नेवित्तिकै हाम्रो ध्यान त्यतैतिर मोडिन्छ । तर, आर्थिक विकासको बहसमा छुटेको एउटा पाटो के हो भने, अर्थतन्त्रका सुक्ष्म ईकाईहरूको योग नै राष्ट्रिय अर्थतन्त्र हो ।

यसर्थ जबसम्म अर्थतन्त्रका सुक्ष्म ईकाईको रूपमा रहेका सामाजिक पुँजीहरू स्थानीय पुँजी निर्माणका दीगो साधनको रूपमा परिणत हुँदैनन्, तबसम्म कुनै पनि देश आन्तरिक रूपमा मजबुद बन्न सक्दैन । व्यापक रूपमा भौतिक विकासका बावजुद पनि कतिपय देशहरू आज आम बेरोजगारीको अवस्थामा हुनुमा यही कारणनै मुख्य रूपमा जिम्मेवार छ ।


कुनै बेला पूर्वको मोतिको रूपमा परिचित फिलिपिन्स आज शहर केन्द्रित गरिबी, बेरोजगारी तथा दुर्व्यसनीकाे केन्द्र भएको छ । तीव्र रूपमा आर्थिक वृद्धि हासिल गरिरहेको भारतमा आम गरीबी व्याप्त छ । त्यसो हुनुको मुख्य कारण ती देशहरूले भौतिक प्रगतिको आडमा सामाजिक पुँजीलाई नजरअन्दाज गरे । जसको कारण सामान्य जीवनयापन गर्नेहरूको जीवनमा खासै ठूलो परिवर्तन हुन सकेको देखिँदैन । न त आम बेरोजगारीको समस्या नै हल भएको छ । 

दीगो र प्रगतिशील अर्थतन्त्र कसरी निर्माण गर्ने भन्ने कुरा सायद विकसित तथा विकासोन्मुख विश्वको साझा बहसको विषय हुन सक्छ । प्रविधि, भौतिक पूर्वाधार अनि व्यापारमा जतिसुकै प्रगति गरे पनि समय समयमा आउने महामारीले विश्व अर्थतन्त्रलाई नराम्रोसँग खुम्च्याएका घटनाहरू यसअघि पनि देखिएका थिए ।

भूमण्डीकरण र उदारीकरणका कारण विश्व जति जति 'कनेक्टेड' हुँदैछ, त्यति विभिन्न कारणले देखापर्ने आर्थिक मन्दिले विश्वलाई नै एकै पटक शिथिल पारेको देखिन्छ । विश्व बैंकको प्रक्षेपणअनुसार सन २०२० मा कोरोना महामारीले विश्वको अर्थतन्त्र ५.२ प्रतिशतले खुम्चने छ । जसमध्ये विकसित मुलुकहरूको आर्थिक गतिविधि ६ प्रतिशतले खुम्चने प्रक्षेपण गरिएको छ भने बजार अर्थतन्त्र तथा विकासोन्मुख मुलुकको आर्थिक गतिविधि २.५ प्रतिशतले खुम्चने अनुमान गरिएको छ । यस्ताेमा करोडौंले रोजगारी गुमाएको अवस्था छ ।


विश्व आर्थिक मन्दी आजको मात्र समस्या हाेइन । यसले विश्वलाई पटक-पटक चुनौती दिएको छ । तर, एउटा गज्जबकाे कुरा के छ भने आर्थिक मन्दीले विकसित मुलुकहरू अनि विकसित विश्वसँग कनेक्टेड मुलुकहरूलाई बढी प्रभाव पारेको देखिन्छ । यसको मुख्य कारण भनेको ती मुलुकले आफ्नो स्थानीय अर्थतन्त्रको सबलीकरणमा भन्दा पनि बाह्य प्रविधि, भौतिक विकास अनि व्यापारमा बढी जोड दिए ।

नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने विगत ४५ वर्षको आर्थिक वृद्धि दरलाई हेर्दा समय समयमा आएका राजनीतिक उतारचढावले यहाँको आर्थिक वृद्धि तथा मुद्रा स्फितीमा खासै ठूलो उतारचढाव ल्याएको देखिँदैन । यसो हुनुको मुख्य कारण परम्परागत रूपमा रहेका सामाजिक पुँजीको प्रयोग नै हो ।

युवाहरू रोजगारीका लागि शहर केन्द्रित भए पनि संकटको बेला उनीहरू गाउँ केन्द्रित हुने गरेका छन्, जसले गर्दा परम्परागत सामाजिक पुँजीले उनीहरूको जिवनयापनलाई सहज बनाइदिन्छ । सरकारले करिब चार महिनासम्म गरेकाे लकडाउनले सहर केन्द्रित रोजगारीका अवसरहरू गुमेपछि लाखौँ युवा आफ्नै गाउँ फर्के । केही समय उनीहरूको विचल्ली देखिए पनि गाउँ पुगिसकेपछि उनीहरू परम्परागत रोजगारतर्फ लागे जसले क्षणिक रूपमा देखिएको रोजगारीको संकट आफैँ टेरेको थियो ।

वैदेशिक रोजगारबाट फर्केकाहरूको हकमा पनि यही कुरा लागू भएको छ । ती सामाजिक पुँजीका रूपमा रहेका परम्परागत रोजगारीका अवसरहरू थिएनन भने देशले थामिनसक्नु परिस्थितिको सामना गर्नुपर्ने हुन सक्थ्यो । काला बजारी अनियन्त्रित रूपमा बढेर मुद्रा स्फिती आकाशिन सक्थ्यो भने आर्थिक बृद्धि पनि ऋणात्मक हुन सक्थ्यो । तर, परम्परागत ग्रामिण अर्थतन्त्रको बलियो आधार भएका कारण केही हदसम्म आर्थिक गतिविधिमा टेवा पुग्यो । 

अन्त्यमा,

यो लेखको मुख्य उद्देश्य भनेको विकासका ठूला सपना देख्नु मात्र समृद्धिको बाटो हाेइन भन्ने पक्षलाई बहसमा ल्याउनु हो । यहाँ ठूलो मात्रामा वैदेशिक लगानी भित्रिँदा, नेपाललाई भारत र चीनको पुलको रूपमा विकास गर्दा वा औद्योगिकीकरणतर्फ नलम्केसम्म आर्थिक बृद्धि सम्भव छैन भनेर सोच्नाले मात्र देशले विकासको फड्को मार्दैन ।

आज हामी के देख्दै छौँ भने प्रविधि, उद्योग, अनि भौतिक सम्पन्नतालाई विकासको आधार बनाएका मुलुकहरू कोरोना माहामारीबाट बढी आक्रान्त भएका छन् किनकि, उनीहरूको अर्थतन्त्रको आधार प्रकृति होइन प्रविधि हो । प्रविधिमा स्वचालित हुने गुण नहुनाले कोरोनाजस्ता संक्रामक महामारीले उनीहरूको अर्थतन्त्रलाई यथास्थितमा पुर्‍याइदिन्छ । 

तर नेपालजस्ता देशको अर्थतन्त्रको आधार प्रकृति हो जुन नवीकरणीय हुन्छ, जसले अथतन्त्रलाई केही हदसम्म स्वचालित बनाइराख्न सहयोग गर्छ । हाम्रोमा उद्योग बन्द भए पनि धान फल्न बन्द हुँदैन । कुनै समुदायले कलात्मक सामग्री बनाउन बन्द गर्दैनन्, घरेलु सीपहरू बन्द भएका हुँदैनन्, जसले अर्थतन्त्रलाई जीवन्त बनाइराखेको हुन्छ । एउटा क्षेत्रमा गुमेको रोजगारी अर्को क्षेत्रमा स्थानान्तरण हुने अवसर प्राप्त हुन्छ ।

त्यसैले हामीले दीगो र प्रगतिशील आर्थिक समृद्धि हासिल गर्न प्रकृति र मानव सभ्यतासँग संस्कारका रूपमा जोडिएका सामाजिक पुँजीहरूको सबलीकरण, विस्तार र व्यावसायीकरणमा जोड दिन सक्नुपर्छ । सामाजिक पुँजीको संरक्षण र विस्तारले प्राकृतिक आधारसहितको औद्योगिक, प्राविधिक अनि भौतिक विकासलाई मार्ग प्रसस्त गर्न सक्छ, जसले अर्थतन्त्रको जग मजबुद बनाउँछ । नेपालजस्ता देशका लागि यही नै दीगो आर्थिक समृद्धिको आधार बन्न सक्छ । 

(लेखक स्थानीय तहका योजना विज्ञ हुन ।) 


प्रकाशित मिति: बिहीबार, ८ असोज २०७७, १५:२१:००

1 comment:

  1. The Best Casinos in the world - JM Hub
    Here 나주 출장샵 we go: A detailed look at the best casinos in the world including their top casino software 영주 출장샵 providers 남양주 출장마사지 and their top  창원 출장안마 Rating: 4.4 창원 출장마사지 · ‎20 reviews

    ReplyDelete