Tuesday, April 28, 2020

एउटा प्राकृतिक अन्त्य

१. एउटा प्राकृतिक अन्त्य

मेरा लागि त्यो दिन साच्चिकै अत्यासलाग्दो थियो। अघिल्लो दिनसम्म ठीकठाक चलिरहेको मेरो जिवन, दोश्रो दिन यति भयानक होला भन्ने सोचेको पनि थिइनँ।
आफ्नै आमासँग गोठमा हाँसीखुसी जिवन बितिरहेको थियो। हाम्रा लागि तयार परिएको घर सँच्चिकै गजबको थियो। वरीपरी वार लगाएर हावा नछिर्ने व्यवस्था थियो भने छानो टिनको थियो। त्यसमाथि मालिकले बस्नको लागि सोत्तर लगाइदिन्थे। हाम्रा लागि सँच्चिकै स्वर्गनै थियो।
आमाको दुध सँधै खान नपाए पनि बिहान-बेलुका मालिकले आमा नजिक लगेर छोडिदिन्थे। आमाको स्पर्शबाट प्राप्त हुने आनन्दको वर्णन गर्न कुनै शब्द नै हुदैनथ्यो। मालिकदेखि पनि धेरै नै माया लागेर आउथ्यो। कारण, यी हाम्रा लागि दिनरात खटिरहन्थे।
बिहान आउने, घिन नमानीकन हाम्रो दिसापिसाब सोहोर्थे, सोत्तर हालिदिन्थे। हामीलाई बस्न सहज बनाइदिन्थे। खोले दिन्थे। घाँस दिन्थे। मलाई आमाको दुध ख्वाउथे र आफू पनि लिएर जान्थे। दिउँसो फुकाएर घुमाउन लैजान्थे। खुल्ला ठाउँमा घुम्न पाउँदा, खुसीले उफ्रन पाउँदा कति आनन्द आउँथ्यो।
मान्छेहरु प्रति म साँच्चै नै कृतज्ञ थिए। कहिलेकाही त यस्तो लाग्थ्यो- यिनीहरु नहुने हो भने हाम्रो जीवनको के अर्थ हुन्थ्यो होला। हाम्रा जिवनदाता हुन् यिनीहरु। कति दुख, चुनौती र हैरानी व्यहोर्न तयार हुन्छन यी हाम्रा लागि। मान्छेका बच्चाहरु पनि हामीलाई देखेर हुरुक्कै हुन्थे। कति चाखलाग्दो तरिकाले हेर्थे हामीलाई।
बिहानै आमालाई फुकाएर जब मालिकले बाहिर लान्थे, मलाई हेर्न एउटी सानी बच्ची उसको बाबालाई लिएर सँधै आउथी। मलाई देखेर डर र माया मिश्रित प्रेम जताउँथी। उसको बाबालाई डोहोर्‍याउदै घाँस लिन जान्थी। उसका साना हातमा एक मुठी घाँस बोकेर मेरो नजिक आउँथी।
सायद उसलाई मसँग डर लाग्थ्यो होला, त्यसैले बाबालाई घाँस दिन लगाउथी। मैले घाँस खाँदा कति रमाउथी – त्यो सम्झेर मलाई पनि मान्छेकै बच्चा भएर जन्मन पाए कस्तो हुन्थ्यो जस्तो लाग्थ्यो। उसँगै खेल्न मन हुन्थ्यो। तर हामी बीच धेरै फरक थियो। सायद यो जुनीमा त मान्छे जस्तो हुन असम्भव नै थियो हाम्रालागि।
तर त्यो रात मलाई मालिकले एक्कासी गोठबाट निकाली दिए। सुरुमा त आमाको दुध ख्वाउन खोलेका होलान भनेर खुसी भए। तर त्यो खुसी धेरै बेर टिकेन। साँझको समय थियो। पानी परिरहेको थियो। उनले त मलाई गोठबाट बाहिर लिएर गए। उनले छाता ओढेका थिए। म भिज्दै उनकै पछि लागे।
अलि पर पुर्‍याएर मलाई एक्लै छोडेर उनी फर्के। म विलखबन्दमा परे। एक्कासी मलाई किन गोठबाट निकाले। भोक लागिरहेको थियो। पानीले जिउ पुरै भिजिरहेको थियो, त्यहीमाथि चट्याङको डरलाग्दो आवाज। जाने ठाउँ कही थिएन। त्यसैले गोठ तिरै फर्के।
म नहुँदा आमा पनि कराउनु पर्ने हो। तर उनको आवाज पनि मैले सुनिनँ। गोठ छेउ मात्र के पुगेको थिए- मालिकले ममाथि ढुंगा बर्साउन थाले। म भाग्नुको विकल्प थिएन। उनी मलाई खेदाउँदै आए लाठी र ढंगा हान्दै।
म कराए। सायद रोए पनि। तर मेरो रोदन सुनिदीने त्यहाँ कोही थिएन। चकमन्न रात, चट्याङको गड्गडाहट अनि अविरल पानीमा भिज्नु मेरा लागि अत्यास लाग्दो नै थियो। मलाई बिहान बिहानै घाँस हाल्न आउने बच्चीको बाबाले सुनिदिए पनि हुन्थ्यो जस्तो लागेको थियो। तर कहाँ छन् मलाई थाहा थिएन।
भोकले पेट बटारीरहेको थियो। म आमाकै दुधमा निर्भर थिए। राम्रोसँग घाँस खान थालेको पनि थिइन। जाने ठाउँ कतै थिएन। मालिकको एक्कासी फेरिएको व्यवहारले मलाई चिन्तित बनाएको थियो। उनले किन यसो गरे। मैले के गल्ती गरेको थिए। मैले बुझ्न सकेको थिइन।
फेरी गोठ तिरै फर्कौ भने कुट्लानकी भन्ने डर पनि थियो। तर फेरी पनि मेरो अन्तिम गन्तव्य त मेरी आमा नै हुन। त्यही सम्झेर पुन आमासँगै जाने सोचें। सायद मध्यरात भैसकेको थियो। मालिक सुतिसकेका थिए। चकमन्न थियो। विस्तारै गोठभित्र पसेँ। आमा बसिरहेकी थिइन्। उनी मलाई देखेर चिन्तित वा खुसी हुन्छिन् होला भनेको त, उनको अनुहारमा न हाँसो थियो, न रोदन। यस्तो लाग्थ्यो आज साँझ मेरो जिवनमा कुनै घटनै घटेन।
आमाको नजिक गएर बसेँ। आँसु मिश्रित आवाजमा आमालाई सोधेँ- आमा मलाई किन यसो गरे मालिकले।
को आमा? होइन म तेरो आमा!!
जसलाई जननी सम्झेँ, जिवनको आधार सम्झेँ, उसैले यसो भन्दा म छाँगाबाट खसेझैँ भएँ। धर्ती भासिएझैँ भयो। अघिसम्म बगिरहेका आँसुहरु एकाएक रोकिए। उसो भए, म को हो त?
कथित आमाले भन्न थालिन्,
तँ मानव प्रविधिले मार्नका लागि जन्माइएको काम विहीन प्राणी होस्। तेरो जीवनको अन्तिम काम भनेकै जन्मनु अनि मर्नु हो। यी मान्छेहरु धेरै बाठा छन्। जे पनि गर्न सक्छन यिनीहरुले।
मेरो विर्य र गोरुको शुक्रकिटलाई कृतिम गर्भाधानका लागि टेष्टट्यूबमा राखेर तेरो जन्म भएको हो। यदी मैले कुनै गोरुसँग प्रत्यक्ष (प्राकृतिक) संसर्ग गर्न पाएको भए, त्यसले मेरो गर्भमा प्रोल्याक्सन र अक्सिटोसीन हार्मोनको जन्म हुन्थ्यो। जसले गर्भ देखि तँ र मबीच गाढा सम्बन्ध विकास गर्थ्यो- आमा छोराको।
तँ जन्मिसकेपछि मेरो दुधबाट निस्कने हार्मोनले हाम्रो सम्बन्धलाई अझ बलियो बनाउथ्यो। त्यही प्राकृतिकको सम्बन्धबाट जन्मेका तेरा पुर्खाहरुले जमिन जोतिदिएर मनिसहरुले खान पाएका थिए। तर समयको क्रमसँगै मानिसहरु छोटो समयमा धेरै कुरा गर्न सकिने उपायको खोजीमा लागे।
खेत जोत्नका लागि गोरुका साटो मेशिनको प्रयोग गर्न थाले। उनीहरुलाई गोरुको आवश्यकता पर्न छाडे पनि गाई मात्र पाल्न थाले। मान्छेलाई हाम्रो धेरै आवश्यकता छ। उनीहरुका बच्चा बच्चीलाई दुध दिन मान्छेका आमाहरुलाई समय छैन। त्यसैले गाई जातिलाई माया गर्छन।
तर अब गोरु नचाहिने भएकाले प्रविधिको प्रयोगबाट गाई मात्र जन्माउन थालेका छन्। केही कथम गोरु जन्मिहाले उनीहरुले केही काम गर्न सक्दैनन्। तँ पनि नाम मात्रको गोरु होस्- न जोत्न सक्छस्, न समागम मै तेरो काम आउँछ।
त्यसैले अब तैले बेवारिसे मृत्यु वरण गर्नु पर्छ। बरु यहाँबाट गैहाल मालिकको यातना सहेर पिडादायक मृत्यू वरण गर्नुभन्दा त बेवारिसे जिवन बाच्दै क्रमिक रुपमा मर्नुमा धेरै आनन्द छ।  कम से कम पिडा त पाइदैन।
ती मेरी कथित आमाको कुरा सुनेर त मलाई के भयो, मैले सोच्नै सकिन। यी मानिस प्रतिको आस्थामा घृणा जागेर आयो। हामी त मर्नका लागि जन्माइएका रैछौ। मैले एकछिन पनि गोठमा नबस्ने निर्णय गरे। अब मैले कसै प्रति मायाभाव जताईरहनु पर्ने थिएन।
पानी उसरीनै परिरहेको थियो। उही गडगडाहट थियो। तर अब भोक थिएन। कुनै डर थिएन अनि कुनै लक्ष्य पनि। यी मानवका वस्तीहरुलाई छिचोलेर अनिश्चित यात्रामा निष्कने अठोट गरे मैले। हामीलाई प्रयोगशालाका निर्जिव वस्तु सम्झने यी मानविय वस्तीहरु अनि यहाँ बस्ने मान्छे प्रति धृणाको आगो मैले पूरा गर्ने प्रत्येक पाइला पिच्छे बढिरहेको थियो।
मलाई लाग्थ्यो, त्यो बच्ची मसँग रमाउन, खेल्न आएकी होली। तर उ त मेरो निरिहतामा रमाउन पो आएकी रैछ। छि कति घिनलाग्दो यिनीहरुको सभ्यता। आफू छिटो हुन अर्काको संसार बिथोल्नमा आनन्द लिने।
म हिँडिरहेको थिए, तर म कहाँ पुगे, कहाँ छु अनि कति हिडे मलाईनै थाहा थिएन। सायद यी तीव्र गतिमा हिड्न खोज्ने मानिसले सृजना गरेका प्रविधिहरु बीच थिए म। यति छिटो हिड्ने वस्तु त मैले योभन्दा अधि कहिल्यै देखेको थिइन- सायद गोठभित्र मात्र बसेकोले होला।
म आफ्नो यात्रामा थिए। तर कहाँ थिए थाहा थिएन। एक्कासी एउटा ठुलो वस्तुले मलाई जोडले ठेल्यो। म हावामा उड्न थाले। पानी पर्ने क्रम रोकिएको थिएन। म पानीको ठूलो मूलमा खस्न पुगेछु। सायद त्यो बाढीले भरिएको नदी थियो। मलाई पिडा भयो। तर पनि खुसी थिए, करण निकट भविष्यमै प्राकृतिक मृत्युवरण गर्दै थिए। म त जाँदैछु तर नदीवाट सुरु भएको तिमीहरुको मानव सभ्याता नदीमै गएर टुंगिने छ।
सेतोपाटी प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७, १४:४७:००

1 comment:

  1. merit casino - xn--o80b910a26eepc81il5g.online
    ein casino ein casino ein poker ein casino ein casino ein poker ein poker ein poker ein poker ein poker ein poker ein poker 메리트카지노총판 ein

    ReplyDelete